पोजेटिभ जाम्विया

पहिलो अन्तराष्टिय उडान । अनि ट्रान्जिट २ ठाउँमा । अन एराइभल भिजामा जान लागेको । पासपोर्टमा ५०० डलर लेखेर । अनि कसरी जान दिन्छन् मुम्वई एअरपोर्टका गिद्धहरुले । आखाँ लगाई हाले । अनि मैले घुस नदिने वरु नजाने अडि कसे । र फर्के नेपाल । यस्तो हर्कत भएको ठिक १ महिना पछि रातीको १० वजे जाम्वियाबाट एउटा विद्युतीय पत्र आयो  र संगै मेरो जाने र आउने हवाई टिकट पनि । “यति दुख गरेर पठाएको छ नगई हुदैन” घरपरिवारका सदस्यहरुको सल्लाह । अनि झोला प्याक गरे र भोली काठमाडौं बाट मुम्वई हैन, नेपालगंजबाट चाहि काठमाडौं कसरी जाने भन्दै सुतियो । सबै कुराले साथ दियो । विहान टिकट पाईयो । मौसम खुल्ला थियो । एअरपोर्टबाट ऋषि मामालाई फोन गरे । मामा आउनुभयो । काठमाडौंको ममको स्वाद चाख्दै म लागे एअरपोर्ट भित्र । अध्यागमनमा कुनै टेन्सन् भएन । सुध्रेका हुन् कि । सेक्युरिटि भित्र जाँचपास गरेर भित्र पस्दा नपस्दै फोन आयो श्रीमती जिको । अनि मम्मीको । यसपटकको मेरो यात्रा पुरै त हैन तर अर्धभूमिगत शैलीको नै थियो । धेरैलाई खवर नगरी लागेको परदेश । मुम्वईमा कचकच भएन, यसपटक पेपर भिजा जो थियो मसँग ।

म  चिन्तित थिए  अफ्रिका यात्रालाई लिएर । सिमित साथीहरुको अनुभव । सिमीत अनलाईनको अध्ययन । त्यो पनि अमेरिका र वेलायतका सरकारले जारी गरेका सेक्युरिटि अलर्टलाई पढ्दा पहिलो पटकको विदेश यात्रा । मनमा अनेक तर्कनाहरु थिए । मानिसहरु यस्तो उस्तो भन्थे । म भन्दा अगाढि जाम्विया आउनुभएका भूमि जिको व्लग सबै पढिसकेको थिए । त्यो पनि एक पटक हैन , पटक पटक । विचमा उहाँसंग मेरो भेटघाट भाको थिएन ।
तर नजाउन्जेल के के लाग्ने गर्दोरहेछ । सधै हत्या, हिंसा र भुकमरी मात्र सुनिरहेको अफ्रिकाका बारेमा मेरो कुनै सकारात्मक धारणा थिएन । केहि जान्दैनन् बाट मेरो धारणाको निर्माण भएको थियो र अन्तिममा विदेशीहरुमाथीको अमर्यादित व्यवहारमा टुंगिएको थियो । भन्छन्, आफु नमरी स्वर्ग देखिदैन । मेरो यस्तो धारणा वनाउनमा मेरो पहुँचमा भएका अनलाईनहरु, सेक्युरिटि अलर्टहरु र सिमीत साथीहरुका हावादारी सन्दर्भहरु नै मुख्य थिए जस्तो लाग्छ ।



२० डिसेम्वर २०१३ मा म चढेको केन्या एअरवेजको जेट जव लुसाकामा उत्रियो । मैले लुसाकालाई अघाउन्जेल हेरे । अध्यागमनको लाईनमा थियौं हामी यात्रीहरु । अध्यागमन अधिकारीले मसंग मेरो पेपर भिजाको सक्कली पत्र मागे । म वाहिर गेटमा आए । मसंग फोन थिएन । मैले त्यहिको सेक्युरिटि गार्डसंग फोन गर्न चाहेको वताए । उसले कुनै हिचकिचाहट विना नै फोन गर्न दिई । मैले फोन गरे एक्सन एड जाम्वियामा । मलाई लिन डेभिल्सन आईसकेको रहेछ । मैले उसलाई मेरो समस्या वताए । एकैछिनमा म फेरी अध्यागमनमा लाइनमा गए । र मैले अनुरोध गरे । अध्यागमनले खै के हो कुन्नी ओके भनेर भिजा लगाईदियो । अनि म एअरपोर्ट बाहिर आए । डेभिल्सन सक्कली भिजा पत्र लिन गएको थियो । म चाहि मेरो काम भएर वसिरहेको । अव के गर्ने ? मैले मेरो लाईन मेनेजर मोकन्दोलाई सम्पर्क गर्न एकजना संग फोन मागे । तुरुन्त दियो । जाम्वियनहरुमा रहेको सहयोगी भावनाबाट म गदगद् थिए । भन्छन् नि मर्निंग सोज डे । एअरपोर्टमा मैले प्राप्त गरेको यो सकारात्मक कुराले नै मलाई जाम्विया प्रति सकारात्मक वनाउन मद्दत गर्यो ।
म जाम्वियामा पहिलो रात विताएको होटल मेल्सिमको भव्य स्वागत विर्सन सकिदैन । जाम्विया आउनुभन्दा अगाढि नेपालीहरुलाई भेट्नुपर्ने दवावमा थिए म । तर मलाई सुनाईएको थियो जहाँका पनि एनआरएनहरु ठूला पल्टिन्छन् । घमण्डी हुन्छन् । अनि तत्काल विश्वास नगरिहाल्नु । तर त्यस्तो केहि भएन । मलाई नेपाली भएकोमा गौरव लाग्ने गरी माया गर्नुहुने विदुर सर, एनआरएन जाम्विया अध्यक्ष साँच्चै रमाईलो हुनुहुदो रहेछ । मेरो इमेलको तत्काल जवाफ दिनुभयो । अनि त्यो पार्टी जहाँ हामी १४ जना साना ठूला (उमेरका आधारमा) नेपालीहरु भेला भएका थियौं । रमाइलो गर्यौ । सायदै अव वसुन्जेल जाम्वियामा त्यस्तो खिर खान पाईन्छ होला । विद्युत विकास विभागको निर्देशकबाट अवकाश लिएर श्रीमती संगै जाम्विया रहनुभएका अंगिरा सर र उहाँकि धर्मपत्नी युएनडिपीमा काम गर्ने, वल्र्ड भिजनमा काम गर्ने खतिवडा सर लगायतको आफ्नै भाईछोरा जस्तो गरेर दिनुभएको सकारात्मक सल्लाह र सुझाव अर्को पोजेटिभ जाम्वियाको उदाहरण हो ।
मेरो साथी डेभिल्सन, उसको केयरींग र सल्लाह साँच्चै मज्जाको छ । समुहमा वाँच्नुपर्ने, रमाईलो गर्नुपर्ने अनि खाईरहनुपर्ने जाम्वियनहरु साच्चै मित्रता गर्न योग्य छन् । मैले सोचेको थिए, जाम्वियाका राजमार्ग क्रान्तिकारी भाषामा लोकमार्ग हाम्रा जस्तै होलान् , ५० को स्पिडमा चल्ने खाले । त्यहा हैन, १६० को स्पिडमा चल्ने हाईवेहरु हरु रहेछन् । अनि किन टाढा लागोस् ५०० किमि । अर्को पोजेटिभ जाम्विया । यसैमा थपौं, गाडि अनुशासन । मैले हर्न सुनेको छैन । डेभिल्सन गाढि हाँक्दै मलाई भन्दै थियो, हर्न वजाउनेहरु असभ्य हुन् । अफ्रिकनलाई असभ्य भन्ने हामी नै पो असभ्य रहेछौं हर्न वजाउने मामलामा । अलि अलि लाज पनि लाग्यो मलाई ।
जाम्वियाले हरियाली वचाएको मात्र हैन, हुर्काएको पनि छ । हामीले हरियो वन नेपालको धन भने जस्तै यहाँ पनि प्रसस्त वन छ । प्रशस्त रुख छ । राजधानी लुसाकामा फोहर, धुवाँ धुलो देख्न मुस्किल पर्छ । बाटामा कहि कतै कसैले मुत्र विसर्जन गर्दैन । बाटोको छेउमा मैदान वस्दैनन् । किनकी कानुन कडा छ, तपाई जेल पनि जान तयार हुनुपर्छ । यति मात्र हैन, अहिले म मोंगुमा छु, यहाँ अहिले वर्षा याम चलिरहेको छ । यहाँका मानिसहरुको प्रमुख पेशा माछा मार्नु हो । तर अहिले माछा मार्न वन्देज लगाईएको छ । वर्षा याममा माछाले सन्तान उत्पादन गर्ने र यसबेलाका माछाहरु स्वादिलो नहुने भएकोले माछा मार्न वन्देज छ । कोहि पनि नदीमा गएर माछा मार्दैन । प्रकृति संरक्षणको यस्तो कानुन र कानुनलाई पालना गर्ने उत्साह मलाई सकारात्मक लागेको हो ।
महिलाहरु पनि सबै काममा वरावर छन् जाम्वियामा । चाहे प्रहरी, चाहे सेक्युरिटि, चाहे डाइभर चाहे गाउँमा हेड टिचर सबै ठाउँमा देखिने उपस्थिती छ ।
हो, मेरो साथी एन्डरसन भन्दैथियो, जे भए पनि अहिलेको “स्थिर राजनीतिले” विकास दिएको छ, । बाटो वनेको छ । रेल्वे वनेको छ । अनि स्कुलहरु वनेका छन् । वैदेशिक सहायता भित्रीएको छ र लाग्छ जाम्विया एउटा नयाँ युगमा प्रवेश गर्दै छ । जाम्वियनहरुको रसिलो मुस्कान, सत्कार गर्ने वानी र अरुलाई सम्मान गर्ने संस्कृतिले साँच्चै एउटा सुन्दर किरण देखिएको छ क्षितिजमा । गरिब र गरिबीमा पर्न वाध्यहरुमात्र हैन, गरिबीबाट माथि उठ्नु पर्छ र उठ्न सकिन्छ भन्ने आसा र उमंग लिएर वसेका मानिसहरु प्रशस्त छन् जाम्वियामा । मेरो सुरुवाती दृष्टिकोण हो जाम्विया प्रतिको ।
एचआईभि पोजेटिभहरुको संक्रमण करिब अत्याधिक भएको अनुमान लगाईरहेको सन्दर्भमा जाम्वियामा  यो मात्र पोजेटिभ रहेनछ, अरु धेरै पोजेटिभ सन्दर्भहरु पनि जोडिएका रहेछन् जाम्वियासँग ।

Comments