ओ जाम्वेजी.............. मुजुंगो (विदेशी) कलिंग


Zambezi in Lukulu 
जाम्वेजी । अफ्रिकाको चौथो ठूलो नदी । २५७४ किमि लामो नदी । जाम्वियाको नाम नै यसै नदीको नाममा राखिएको छ । कंगोबाट शुरु हुने जाम्वेजी अंगोला, नामीविया र जिम्वाम्वेसंग जाम्वियालाई छुट्याउने सिमा पनि हो । म अहिले जाम्वेजी नदीको किनारमा छु । नदीको किनारमा वसेर फेसवुकिंग र ट्वीट गर्नुको रमाईलो लिईरहेको छु । फेसवुकमा भर्खरै स्टाटस अपडेट गरे “ओ जाम्वेजी, आई लाईक यु मस्ट ।” हो, म जाम्वेजी नदीको सुसाईमा वहकिदै जाम्वीयालाई फर्केर हेरिरहेको छु । 
जाम्वीया, लुसाकाको अन्तराष्टिय हवाई मैदानमा आजभन्दा करिव ५ महिना अगाढि उत्रिदा मेरो २ करोड मानिसहरु मध्ये कसैसंग चिनजान थिएन । विरानो थियो जाम्विया । आज ५ महिना पछि म भन्न सक्छु, मलाई माया गर्ने सयौं मानिसहरु मात्र हैन, जाम्वेजी नदीको पनि साथ पाएको छु मैले यहाँ । 
अफ्रिका, सुन्ने वित्तीकै रंग (कलर) दिमागमा आउँछ, सुन्ने वित्तिकै गरिवी मानसपटलमा छाउँछ । अफ्रिकालाई पुरातन आँखाले हेर्ने मेरो दृष्टिदोषबाट सम्भवत लुसाकामा रहेका मेरा नेपाली अग्रजहरुले पनि मुक्त पार्न सक्नुभएको थिएन । जाम्वियाको १० प्रान्त मध्येको एक पश्चिमी प्रान्त (वेस्टर्न प्रोभिन्स) को सानो तर चिटिक्क परेको शहर (टाउन) लुकुल, जाम्वेजी नदीको किनारमा रहेको आउनु भन्दा अगाढि म निकै तनावमा थिए । सुरक्षाका पुर्वशर्तहरुको एक ढड्डा निर्देशिकालाई घोकेर जाम्विया उत्रेको मलाई के नै पो सकारात्मक लाग्थ्यो र ।  जव मिलनसार डाईभर जोनसंग रम्दै रमाउदै जंगल सफारी गर्दै आईपुगे लुकुलु सबै भ्रमबाट एकाएक मुक्त भए म । 
लुकुलु मात्र हैन, दुर्गम ठाँउ जती जानुहुन्छ, त्यति नै तपाईले आतिथ्यता पाउनुहुन्छ जाम्वियामा । यो यथार्थताबाट किन वाहिर जान मान्थ्यो लुकुलुले । यो मलाई अंकमाल गर्न तयार भयो । मलाई माया गर्न तम्तयार भयो ।  
लुकुलु सानो छ, तर ठूलो मन लिएर वसिरहेको छ । लुकुलुलाई अंकमाल गर्दै मैले भन्नै पर्छ, ओ जाम्विया, आई लाइक यु मस्ट । नेशनल हाई वेले नछोएको सानो वजार लुकुलु साच्चै आत्मिय छ, साँच्चै प्यारो छ । यो आत्मिय भएको यहाँका मानिसहरुको स्वभावले हो । यहाँ मानिसहरुको वानीले हो । जो आतिथ्यता गर्न पाउनुप्रति गर्व गर्छन् । सरल र सहजताका साथमा सम्वन्धलाई जोड्न चाहन्छन् । 
आदर र सत्कार साँच्चै यहाँका मानिसहरुको रगतमा दौडिएको छ । नयाँ ठाउ, भिन्न परिवेश तर मलाई कहिल्यै नौलो लागेन । जहाँ पनि सम्मान गर्ने र आदर गर्ने स्वभावबाट म सारै प्रभावित भएको छु । आतिथ्यतापुर्ण स्वागतको यो रमाईलोपनमा म किन पो एक्लो हुन पाउथे र । मैले यहाँ साथी भाई मात्र हैन, मम्मा र परिवार पाएको छु । मैले यहिको स्थानीय नाम पाएको छु । मुविता साम्वान्जी मेरो जाम्वियन नाम हो । 
जहाँपनि उत्सव गर्नुपर्ने, रमाईलो गर्नुपर्ने जाम्वियनहरु नाच्न सारै मनपराउछन् । गर्भे डान्सर भएर जन्मिन्छन् जस्तो लाग्ने । जो पनि जसरी पनि नाच्दछन् । सायद यो चर्चको प्रभाव पनि होला । ९८ प्रतिशत क्रिस्चियन रहेको जाम्वियामा वोलिने भाषा धेरै छ तर अंग्रेजी सरकारी कामकाजको भाषा हो । अफ्रिकन अंग्रेजी मज्जा आउँछ वोल्न । 
अत्यन्तै धार्मिक स्वभावका छन् मानिसहरु । कसैलाई पनि कहिल्यै पनि विगार गदैनन् वा गर्नुहुदैन भन्नेमा सचेत । पाप र धर्मका बारेमा अत्यन्त सम्वेदनशील । सायद त्यसैको परिणाम हुनुपर्छ, मानिसहरु एकअर्का प्रति घृणा हैन, माया गर्न उद्दत छन् यहाँ । शनिवार र आइतवार हरेक मानिसहरु हातमा वाइवल वोकेर चर्च जानेगर्छन् । सम्भवत वाइवल नराख्ने घर हुदैन यहाँ । 
। अहिलेसम्म एकै पटक पनि शसस्त्र द्धन्द्धमा नपरेको अफ्रिकन देश हो जाम्विया । यहाँका मानिसहरुको रगतमा नै प्रेम, अहिंसा र सद्भावले भरिएको छ । जो मैले प्रत्यक्ष देख्न पाएको छु । भोग्न पाएको छु । मलाई लागेको दुख के हो भने अफ्रिकालाई वाहिरबाट हेर्नेहरुले साँच्चै यसको सुन्दरतालाई नियाल्न सकिरहेका छैनन् । यहाँका मानिसहरुको भावनालाई वुझ्न सकिरहेका छैनन् । सतहका कुरा गर्नेहरुलाई के नै पो भन्न सकिन्छ र । म संगै काम गर्ने साथी मुआल्ला भन्दै थियो, “विकास रातारात हुदैन किरण । ५ वर्ष अगाढिको जाम्विया र अहिलेको जाम्वियामा धेरै नै फरक छ । जाम्विया वदलिएको छ, अफ्रिका वदलिदै छ ।” 
यति सरल र सहज मानिसहरु वस्ने यो सुन्दर भूमिमा विकासको गतीले वेग पकड्ने छ । म एकदमै आसावादी छु, यस्तो देश वदलिनु पर्छ । यस्तो देश वन्नुपर्छ जहाँका मानिसहरु यति सभ्य र आत्मीय छन् । सुदुर भविष्यका सुन्दर लालीमाहरु उदाउने छन् । जाम्वेजी नदीको एकनासको सुसाईले त्यस्तै संकेत गरिरहेको झैं लागेको छ मलाई । ओ जाम्वेजी, मुजुंगो (विदेशी) कलिंग । 
Lukulu, Zambia

पढ्नुहोस् पोजेटिभ जाम्विया 

Comments