Respect to labor and migrant worker of nepalese

विदेशिएका युवा र श्रमको सम्मान
 
नेपालमा वर्षेनी ४ लाख युवाहरु श्रमवजारमा जान्छन् । वेरोजगारी नेपालको प्रमुख समस्या मध्यमा पर्छ भन्दा अनुपयुक्त नहोला । सायद यसकारण नै होला हरेक दिन नेपाली युवाहरु १० हजार रुपैंयाका लागि सयौंका संख्यामा अरब का मरभुमिमा भासिइरहेका छन् । रेमिट्यान्सले देश धानिएको छ । ती युवाहरु जो नेपालका भविष्य हैनन् वर्तमान हुन। उनका पसिनाले कतार र दवई समृद्ध भइरहेको छ । र हाम्रा राष्टपतिलाई मेजवानी गरिरहेको छ । काम नपाएर गएकाहरुको लर्कोमा सल्यान कोटवाराका सेते केसि पर्दैनन् । किनकी उनी कालापार जान्छन् । कालापार अर्थात भारत । भारतको हिमांचल मा स्याउ टिप्न मात्र हैन टमाटर खेती गर्न जाने सेतेहरुका लागि नेपालगंज आसपासका सुख्खा भुमिलाई पनि हरियाली वनाउने क्षमता छ भनेर सोच्ने कसले । भन्ने कसले । गर्ने कसले ।
 
फापर, आलु र सिमी खाइरहेका कर्णाली वासीलाई भातको लत वसाल्ने नेपाली सामन्तवादी सोच र यसको मलजल गर्ने सभ्रान्तहरु अहिले विदेश जाने र आप्रवासी हुनुलाई गर्व र सम्मान संग जोडिरहेका छन् । र यसैको शिकार भइरहेका छन् जानेर वा नजानेर नेपाली युवा पुस्ता । सुन्दर भविष्यको कामना गर्दै दलालहरुलाई श्रीसम्पत्ती वुझाएर विदेश जान चाहनेहरुको भिड हेर्न कहि जानु नै पर्दैन मात्र जिल्ला प्रशासन कार्यालयमा एमआरपिको फाराम बुझाउन जानेहरुको लर्को देखे हुन्छ । दिनहु नेपालगंजको सुर्खेत रोडवाट कालापार जानेहरुको लर्कोको कुनै तथ्यांक नै छैन  । सायद यसैले होला जनगणनामा पनि विदेश भनेर भारत गएकाहरुलाई भनिदैन ।
 
देश मै सामान्य कर्म गरेर पनि केहि अवसरहरु खोज्ने, अलिकती सिर्जनशिल वनेर आफ्नो स्वरोजगार गर्ने तिर नलागेर किन युवाहरु विदेश भासिइरहेका होलान् ? सामान्य खेती गरेर वा ५ वटा गाई पालेर कमाउने पैसा कमाउनका लागि किन ३ डि काम गर्न लालायित भएका होलान् युवाहरु । के कसैले यसलाई खोजेको छ ? के कसैले सोचेको छ ? हाम्रो देशको ठेक्का लिने सबैभन्दा धेरै देश वनाउने भाषण गर्ने कथित स्वनाम धन्य ठेकेदारहरुको दरिद्र मानसिकता र त्यसको नै मलजलीकरण नै प्रमुख कारण हो । अर्थात कामलाई हेरेर दर्जाकरण गरिने सामन्ती सोच । त्यहि सोचबाट जन्मेको जन्माइएको हाम्रो शिक्षा प्रणाली । जो विद्यार्थीलाई असल हैन, ठुलो मान्छे वन्न सिकाउछ । श्रम गर्नेलाई हेलाहोचो गर्छ र छिछिदुरदुरको तहसम्म पुग्छ । १२ कक्षा पास हुनु भनेको विदेश जाने सपना देख्ने वनाउनु हो ।
 
श्रमप्रतिको सम्मान कस्तो छ भने नेपालगंजको लाइफ लाइन रिक्साचालकहरुले एक दिन यहाँ आन्दोलन गरे । माग थियो, “हामीलाई कसैले ट्वाइलेट जान दिन्न, शहरमा सार्वजनिक ट्वाइलेट छैन । कहाँ पिसा गर्ने । पानी खानका लागि धारा छैन होटलमा गएर माग्यो भने दिदैनन् । हामीलाई कहिलेपनि राम्रो नामले वोलाइन्न । ए रिक्सा भनिन्छ । ” लडिया चलाउनेले वा हलो जोत्नेले मात्र हैन होटलमा काम गर्ने वेटरहरुलाई हामीले गर्ने गरेको व्यवहारमा अब परिवर्तन आउन जरुरी छ । सोचौ  तपाइका भाई, छोरा वा इष्टमित्रले विदेशमा गएर पनि यहि काम गरिरहेका होलान् । तीनलाई यसरी नै कसैले वोलायो भने वा कसैले भन्यो भने के होला ।  हामीले काम गर्नेहरुलाई सम्मान गर्न कहिले सिक्ने होला । श्रमको सम्मान गर्न यहिबाट शुरुवात गर्ने होकि ।
 
अहिलेपनि समुदायमा फलानोको छोरो युरोप गएको वढाई छ , अमेरिकाको डिभि परेको हल्ला छ । तर हल्ला छैन त ती युवाहरुले त्यहाँ के गरिरहेका छन् कस्तो काम गरिरहेका छन् ? मलाई मेरो एक जना साथीले अष्टेलियाबाट फेसबुकमा भनेको अहिले पनि याद छ, सपनाको शहर भनेर आइयो । यति नै मिहिनेत नेपालमा गरेको भए स्टयाण्डर्ड लाइफ विताइन्थ्यो होला । एटलिस्ट वाल्कोनीमा (खाट माथी खाट) मा त सुत्नुपर्दैनथ्यो होला नी । यो धेरथोर हाम्रा साथी भाइहरुको कथा हो ।  अजीव त त्यसबेला लाग्छ जब काठमाण्डौंको चार दिवारबाट वाहिर ननिस्किएको एउटा युवा समृद्ध भविष्यको लागि लण्डन वा न्युयोर्क पुग्छ । काठमाण्डौमा होटल र पसल गर्न लाज मान्ने त्यो युवा “कमाउनका लागि” ग्याँस स्टेशनमा पेटोल हाल्न तयार हुन्छ ।
“१ लाख ५० हजार तिरेर यहि काम गरे पनि त हुन्छ । वाबु विदेशको १५ हजारलाई नेपालको १० हजारले जित्छ भनेर भन्ने को पो छ र ।” जागिर खानुपर्ने त्यो पनि सरकारी । वा विदेश जानुपर्ने मानसिकताले घरजम गरेको छ । फलानोको छोराले विए पढ्यो तर घरमा नै कुखुरा पाल्छ । मासु काटेर बुच्चर भाको छ वा जुठो भाडो धोएर वसेको छ भन्ने सोच अहिले पनि व्याप्त छ । के पढ्नु को अर्थ, के कमाउनु को अर्थ विदेश जानु नै हो । सम्भावनाको खोजी यहि वसेर पनि गर्न सकिन्छ । त्यसका लागि अलिकती सोचमा परिवर्तन गर्नु जरुरी छ । श्रम गर्नेलाई सम्मान, कामलाई आदर अनि माया । कामलाई सानो र ठुलो भन्ने अनि आफ्ना छोराछोरी विदेश (युरोप र अमेरिका) मा छन् भनेर नाक फुल्याउने संस्कृतीलाई त्याग्न जरुरी छ ।
 
चाहेर पनि अब विदेश जानबाट रोक्न सकिन्न । युवाहरु जो श्रमलाई माया गर्नका लागि, सपनालाई पुरा गर्नका लागि वाध्यताका लागि ४५ डिग्रीको तापक्रममा काम गरिरहेका छन् । ती युवाहरुलाई गरिखाने अवसर प्रदान गरियो र ति युवाहरुको सिकाईलाई तिनले देखेको, भोगेको र गरेको काम र श्रमप्रति त्यहाँ गरिने सम्मानलाई देशमा फैलाउन सकियो भने आउदो भविष्य सुन्दर अनि समुदाय समृद्ध हुने कुरामा कुनै दुईमत छैन ।

Comments

Post a Comment