मोती टल्किने रारा


उकालो हिँड्दै मध्यान्ह ढल्किसकेको थियो । ठिक तीन बजेतिर रारा तालको पूर्वी किनारमा पुगियो । बीबीसी मिडिया एक्सनकी रोजिता अधिकारी नीलो आकारको रारा देख्नेबित्तिकै मोहित भइन् । आहा रारा भन्दै उनी फोटो खिच्न थालिन् । तालको किनारै किनार हिँडेर केही पर पुगियो । त्यहाँ नीलो तालमा मोती टल्किरहेको थियो । त्यो अनौठो प्राकृतिक दृश्य देखेपछि रोजिता थप रमाइन् । दाइ हेर्नुहोस् त कति राम्रो मोती टल्किएको ? यो तस्बिर म आफ्ना साथीहरूलाई देखाउँछु-रोजिताले भनिन् । राराको दृश्य धेरैले अवलोकन गरे पनि मोती टल्किएको दृश्य कमैले देखेका होलान् । ल दाइ यस्तै फोटो खिच्नुहोस् त भन्दै क्यामेरा मलाई दिइन् । मैले तालमा टल्किने मोतीको फोटो खिचें तर उनको चित्त बुझेन । फेरि आफैले नीलो तालमा मोती टल्किएको करिब एक दर्जन फोटो  खिचेर देखाइन् ।
रारामा यस्तो दृश्य देख्न पाइएला भन्ने सोचेकै थिइन-रोजिताले सुनाइन् । मध्यान्हतिर सूर्य चुचुमारे लेकतिर ढल्कदा तालमा मोती टल्किने गरेको छ । यस्तो अनौठो दृश्य हेर्न रारा तालको किनारमा समय कुर्नुपर्छ । घन्टा-घन्टामा राराले फेरिरहने रूपमध्ये मोती टल्किनु पनि एक हो । रारा कतिखेर नीलो हुन्छ त कतिखेर खैरो हुन्छ । मध्यान्हपछि तालको बीच भागबाट पानीका तरङ्गहरू छेउतिर पुग्छन् । 
रोजिताजस्तै पहिलो पटक रारा पुग्ने जो कसैको -स्वदेशी तथा विदेशी) मन लोभ्याउँछ भने राराबाटै प्रसिद्ध तीर्थस्थल छायाँनाथको पनि अवलोकन गर्न सकिने भएकाले यसको धार्मिक महत्व पनि उत्तिकै छ । तालमा पौडिरहेका हाँसको तस्बिर खिच्न रोजिता उत्तिकै उत्साहित देखिइन् । तस्बिर खिचेर थाकेपछि रोजिता सोध्दै थिइन्-दाइ, यस्तो ठाउँको सिर्जना  कसरी भयो होला ?
केही समयपछि रारा हुटु डाँफे गेस्ट हाउसमा पुगियो । हनिमुन मनाउन जुम्लाबाट तीन दिन हिँडेर रारा पुगेका स्वीट्जरल्यान्डकी नर्स अन्ना तथा इन्जिनियर क्रिस्टिअन भेटिए । रोजिताले सोधिन्-रारा कस्तो लाग्यो ? ओ ब्युटी रारा ओ ब्युटी रारा भन्दै नर्स अन्नाले खुसी प्रकट गरिन् । यहाँबाट फर्किएपछि आफ्नो देशका नागरिकहरूलाई नेपालको रारा घुम्न जान आग्रह गर्ने अन्नाले बताइन् । 
उनीहरू विवाह गरेको ३० वर्षपछि रारामा हनिमुन मनाउन आएका थिए । चारैतिर वृक्षहरूले घेरिएको आधा आकाश खसेजस्तै नीलो र कञ्चन रारा ताल । सुन्दर, शान्त र विशाल राराको अवलोकन गर्दा मनका चिन्ता र तुषहरू हराएर नयाँ सोच, नयाँ विचार आउन सक्ने भ्रमणका क्रममा रारा पुगेका कृषि मन्त्रालयका कर्मचारी विदुर कार्कीले सुनाए ।  
रारा केवल मुगुवासीको मात्र नभएर राष्ट्रिय महत्व बोकेको विशाल पर्यटकीय गहना हो । राराको पर्यटन प्रबर्द्धन गर्न सके विदेशी मुद्रा भित्रिने कुरामा दुईमत छैन तर पनि राज्यले राराको सदुपयोग गर्न सकेको छैन । 
समुद्री सतहबाट २९ सय ९० मिटर उचाइमा रहेको राराको आफ्नै इतिहास छ, बूढापाकाहरू भन्छन्-एउटा बाजीले भीक माग्दै हिँडिरहेको बेला बाटोमा ढंुगा उछिट्टएिर हातमा झुन्डाएको चिन्डो फुटेर रारा ताल बनेको हो । 
धार्मिक कथनअनुसार छायाँनाथ शिव-पार्वतीले पूजाका लागि राखिएको पानीको अम्खोरा हो । रारामा डुङ्गा चढेर सेनाको क्याम्पबाट पारि मिलिचौर उत्रिन ३ घन्टा लाग्छ । वरिपरि एकपटक फन्को मार्न ६ घन्टा लाग्छ । राराको लम्बाइ ५ हजार मिटर, चौडाइ ३ हजार मिटर तथा गहिराइ १ सय ६७ मिटर छ । चैत-वैशाखमा लालीगुराँसका फूलले रारा बेहुलीजस्तै देखिन्छ ।
हिमपातका बेला रारा वरिपरिका रुख कपास फुलेजस्तै देखिन्छन् भने बीचमा नीलो कञ्चन ताल देखिन्छ ।  चराहरूले रुखको हिउँ खसाल्दै ताललाई जिस्काइरहेको आवाज सुन्दा बटुवालाई एउटा बेग्लै आनन्द प्राप्त हुन्छ । राराको अर्को विशेषता असार-साउनमा सप्तरङ्गी फूल, विश्वमा दुर्लभ असल जातका माछा तथा रानी ट्राउट भ्यागुतो हो । यहाँ डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल, हाँस आदिका ३ सय प्रजातिका चरा पाइन्छन् ।  कस्तूरी,  रेडपाण्डा, मृग, घोरल, भाल, रतुवा आदि वन्यजन्तु रारा क्षेत्रका गहना हुन् । यहाँ गुच्ची च्याउ, पाँचऔंले, जटामसी आदि १८ किसिमका जडीबुटी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।
बर्सेनि रारा भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १ सय २० देखि १ सय ६० सम्म पुग्ने जानकारी दिँदै निकुञ्जका निमित्त संरक्षण अधिकृत भूपेन्द्र रायमाझीले भने-'पर्यटन प्रबर्द्धनका लागि सरकारबाट बजेट विनियोजन हुँदैन ।' 
अर्कातिर भरपर्दो हवाई सेवा नहुँदा स्वदेशी तथा विदेशी पर्यटकका लागि रारा पुग्न कठिन छ । भरपर्दो हवाई सेवा र रारामा ५ वटा मात्र सुविधायुक्त होटल हुने हो भने पर्यटकको लर्को लाग्न सक्छ । जुम्लाबाट रारा पुग्न दुई  दिन लाग्छ भने बाजुराबाट पनि उत्तिकै समय लाग्छ । सुर्खेत र नेपालगञ्जबाट हवाई मार्गबाट पनि रारा पुग्न सकिन्छ । रारामा बास बस्न ताल नजिकै एउटा होटल छ । त्यहाँबाट आधा घन्टाको पैदल यात्रापछि पुगिने माझघट्टमा स्थानीय स्तरका होटल भेटिन्छन् । ती होटल सुविधायुक्त नभए पनि सामान्य बासका लागि काम चलाउ छन् ।
Article By : राजबहादुर शाही, NARI Magazine