A letter to Teacher



प्रिय शिक्षकहरु, 

तपाईहरु आन्दोलन गरिरहनु भएको छ । त्यो पनि शान्तीपुर्ण । दिनहु शिक्षा कार्यालयमा धर्ना । सडकमा जुलुस वा यस्तै केहि । रेडियो र पत्रिका भन्दैछन् आन्दोलनमा धरपकड भएको छ । शान्तीपुर्ण आन्दोलनमा प्रहरीले वल प्रयोग गरेको छ । निन्दनीय छ । तपाईको भाषामा आन्दोलन रहर हैन । वाध्यता हो । सडकमा तपाईले पिटाईखाई रहेको समयमा तपाईका विद्यार्थीहरु गाँउको धुले माटोमा एक खुटे खेलिरहेका होलान् । आन्दोलनमा दमन भएको वहानामा विद्यालय वन्द हुने निश्चित छ । सायद घोषणा भईसक्यो । हुनत तपाईहरु शुक्रबार आन्दोलन गरेर शनिवार पढाउदै हुनुहुन्छ । 


यतिवेला म कपुरी क र खरायो ख सिकाउने शिक्षकहरुलाई सम्झिरहेको छु । मलाई साक्षर वनाउने शिक्षकहरु आदर्श हुनुहुन्छ । अक्षर, अंक र संकेत चिन्न सहयोग गर्ने गुरुहरुलाई मैले सम्झिनै पर्छ यतिखेर । सायद मलाई कविता र निवन्ध लेख्न हौस्याईरहनुहुने शिक्षकहरु अहिले आन्दोलनको अग्रमोर्चामा हुनुहुन्छ । जे कर्म गरे वा गरिरहेको छु, मलाई सिकाउने शिक्षकहरु आधारस्तम्भ  हुनुहुन्छ । हालाँकि ति शिक्षकहरु केवल विद्यालयका मात्र रहनुभएन । मैले एक छाक खानका लागि दिनभरी श्रम गर्नेहरुसंग सिक्ने मौका पाएको छु । गरिबीबाट मुक्ति हुन जमर्को गरिरहेका अभियन्ताहरुसंग  शिक्षा लिईरहेको छु । शिक्षा प्राप्त गर्ने कुरा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो भन्ने विश्वास राख्छु म । शिक्षाले प्रश्न गर्न सक्नुपर्छ भन्छु म । सहि र गलत छुट्याउन सक्ने र विश्लेषण गर्दै आफ्नो क्षमतालाई प्रस्फुटन गराउने मौका शिक्षाले दिन सक्नुपर्छ । 

शिक्षकको जागिरका लागि हैन विद्यालय । विद्यालय विद्यार्थीका लागि हो । विद्यालय वालवालिकाका लागि हो । हेक्का राख्नुहोस् विद्यार्थी छन् र त शिक्षक हुनुहुन्छ । पढ्ने रहे भने न पढाउने हो । विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने थलो हो विद्यालय । सरकारी विद्यालयमा आम अभिभावकहरुको विश्वास घटेको छ । किन अलोकप्रिय भए सार्वजनिक विद्यालय ? किन भरोसायोग्य भएनन् । घोत्लीनुपर्ने अहिलेको आवश्यकता हो । सोच्नुपर्ने अहिलेको सन्दर्भ हो । कसले के गर्नुपर्छ ? सोचौ ! के तपाईको आन्दोलनले यो मर्मलाई छोएको छ ?  
शिक्षक जो आधुनिकताका प्रतिमुर्ति हुन् । परिवर्तनको पक्षधर हो शिक्षक । शिक्षक समुदायको अगुवा हो । वाटो देखाउने । अनुकरणिय हुन्छ शिक्षक । मैन जस्तै पग्लिन्छ शिक्षक । समुदायको दियो हो शिक्षक । त्यसैले केहि समस्या पर्यो की “शिक्षक नानी” लाई सम्झिन्छन् गाउका वुढापाकाहरु । त्यसैले केहि व्यवधान आईपर्यो कि शिक्षकलाई लेखापढिको जिम्मा लगाउछन् प्रौढहरु । सहि सुचनाको श्रोत हो शिक्षक । र त सरकार जनगणनाको गणक वनाउँछ । शिक्षक समुदायको आसा हो । भरोसा हो । शिक्षकले गल्ती गर्दैनन् भन्ने विश्वास अझै मरिसकेको छैन । शिक्षकको जिम्मेवारी भित्र के पो पर्दैन । आफुप्रतिको समुदायका विश्वासलाई वचाउने जिम्मा पनि शिक्षकको हो । अहिले यो भरोसा संकटमा परेको छ । अनेक कारण हुन सक्छन् । के कारण हुन् ? किन यस्तो भयो ? घोत्लिने हो कि !

एउटा विद्यार्थीका लागि राज्यले शिक्षामा गरिरहेको लगानीको प्रतिफल प्राप्त गर्न आधारभुत रुपमा पाँच काम हुनुपर्छ । विद्यार्थीलाई ल्याउनु पर्छ । विद्यालयमा राख्नु पर्छ ।  टिक्नु पर्छ । सिक्नु पर्छ । र बिक्नु पर्छ । अभिभावकले ल्याउने हो । यसै पनि तपाईले “जागिर खाने” विद्यालयहरुमा हुने खानेका वालवालिकाहरु पढ्दैनन् । भुत वाल विकास र भुत विद्यार्थीको जोहो गरेर फ्ल्यास रिपोर्ट भर्दै अनेक सुविधाहरु लिन तपाईको कुन चाहि नैतिकताले दिन्छ ? के सरकारले भनेको निशुल्क शिक्षाको अवधारणालाई तपाईले स्विकारेको अवस्था हो ? कक्षा ९ मा पढ्ने वालवालिकाका लागि कक्षा ४ मा पढ्ने विद्यार्थीले मासिक शुल्क तिरिरहेको कुराले तपाईलाई कहिल्यै विझायो । शिक्षा ऐन भन्छ, कक्षा ८ सम्म कुनै पनि शुल्क नलेउ । तपाईहरु हाकाहाकी शुल्क उठाउनुहुन्छ । किन उठाउनुभएको भनेर प्रश्न गरियो भने सजिलो उत्तर आउछ, विद्यालय संचालन गर्न । शुल्क उठाउन नपाएर कुनै विद्यालय वन्द भयो भने त्यसको जिम्मेवार तपाई आदरणिय शिक्षक हैन, जिल्ला शिक्षा कार्यालय वा नेपाल सरकार हुनुपर्छ । 

विद्यालयमा ट्वाईलेट नभएर वालवालिकाहरु विद्यालय नआउने कुराले तपाईलाई कहिल्यै सोचनिय वनायो ? महिनावारी हुने वखत वालिकाहरु विद्यालय आउदैनन् भन्ने कारण कहिल्यै खोतल्नुभयो ? किन विद्यालयमा सबैभन्दा नराम्रो, साँघुरो कोठा छ भने त्यो कक्षा १ हुन्छ । किन होला ? कहिल्यै शौचालयको छेस्किनीको जाँच गर्नुभएको छ, त्यो साना वालवालिकाहरुले लगाउन सक्छन् वा सक्दैनन् । खानेपानीको धाराको टुटि कती अग्लो छ ? आफ्ना कक्षा १ का वालवालिकाको उचाईसंग नाप्नुभएको छ ? 

टिकाउ दर हावादारी भएको छ । विद्यालयको टिकाउ दर कति छ ? एक पटक आफैं जाँच्नुस् । विगत २४ महिनामा ४ दर्जन विद्यालयमा गएर मैले गरेको अध्ययन अनुसार सरकारी विद्यालयको कक्षा ५ सम्मको टिकाउदर २९ प्रतिशतले माथी पुगेको छैन । कहाँ हराए ७१ प्रतिशत विद्यार्थी । किन हराए । राख्ने ठाउ नभएर हो कि, टिकाउने सुविधा भएन वा नसिकेर पो हराए कि । सोचौ ! अन्तिम परिक्षामा सामेल भएका विद्यार्थीको संख्या हैन, नाम हेर्नुस् । ०६४ सालमा कक्षा १ मा भर्ना भएको विद्यार्थीहरु मध्ये ०६८ को कक्षा ५ अन्तिम परिक्षामा कति जना विद्यार्थीहरु सामेल हुदारहेछन् ? वास्तविकता आफैं वाहिर आईहाल्छ । किन यसो भएको होला ? 

एक पटक आफ्नो विद्यालयलाई फर्केर हेर्नुस्, विद्यालयमा सामाजिक परिक्षण गराउनु पर्छ भन्ने कति हेक्का छ ? कति जना शिक्षकहरु पाठयोजना वनाएर कक्षा कोठामा जानुहुन्छ ? वा कतिजना शिक्षकहरु हातमा छडि विना कक्षा कोठामा प्रवेश गर्नुहुन्छ । एक पटक तपाईले लिएको वाल मैत्री पुर्ण तालिम सम्झिनुस् । कहिल्यै तपाईले स्थानिय श्रोत सामाग्री जम्मा गरेर शैक्षिक सामाग्री जोहो गर्नुभयो । समुहमा राखेर तालिममा जस्तो कहिल्यै सामुहिक छलफल भएको छ कक्षा कोठामा । पाठयोजना नवनाएको कति भो ? कति प्रतिशत पढाई भयो ? पाठ्यसामाग्री चाहियो भनेर जिशिकामा धर्ना दिइएको छ ? सम्झिनुस् । तपाईलाई हेक्का भएको हुनुपर्छ, विद्यालय २२० दिन खुल्नु पर्छ । १९१ दिन पढाई हुनुपर्छ । आफ्नै हाजीरि जाँच्नुस् । कति दिन विद्यालय खुल्यो ? कति दिन पढाई भयो ? सिकाई उपलव्धिलाई आफैं दाँज्नुस् । किन विद्यार्थी कमजोर भए ? कसको दोष ? विद्यालय नपठाउने अभिभावकको । नआउने विद्यार्थीको वा नसिकाउने शिक्षकको । 

आदरणिय शिक्षक ज्युहरु, तपाईहरुले चाहनुभयो भने परिवर्तन गर्नुहुन्छ । वस् चाहिएको छ, परिवर्तनप्रतिको दृढ विश्वास, विद्यार्थीको भविष्यप्रतिको सम्वेदनशिलता र केहि गर्ने आँट, जोश र जाँगर । र चाहिएको छ जागिरे मानसिकताबाट सदाका लागि राजीनामा । तपाईको पेशाको सम्मान गर्नुस् । तपाईको पेशाको पवित्रतालाई नधमिल्याउनुस् । तपाईको पेशाको उज्जवलता विद्यार्थीको कर्मसंग गाँसिएको छ । मेरो विनम्रता पुर्वक अनुरोध छ, तपाईको आन्दोलनको केन्द्र शिक्षक सुविधा नहोस्, तपाईको आन्दोलनको केन्द्र विद्यार्थी वनुन् । ति विद्यार्थी जो हुदाखानेका बालबालिकाहरु हुन् । ति विद्यार्थी जसको उज्ज्वल भविष्य साकार वनाउने जिम्मा तपाईको हो । तपाईको शिक्षणले तिनलाई सदाका लागि गरिवीवाट मुक्ति दिने वनाउनुपर्छ । तपाईको शिक्षणले प्रतिस्पर्धामा विक्ने वनाउनुपर्छ । सदा शिर उचो वनाएर जिउने वनाउनु पर्छ । आत्मसम्मानका साथ बाँच्ने वालवालिकाको सपना तपाई पुरा गर्न सक्नुहुन्छ । तपाईको आन्दोलनको वाटो यतै हिडोस् । शुभकामना । 

Comments

  1. किरणजी, वाह क्या दामी लेख !! पेज ३ खोइ कता छ ? यो लेख सबैले पढुन्, मनन गरुन् भन्ने आग्रह छ । यो लेखलाई अलिक ठुलो सर्कलमा कसरी पठाउन, वा छपाउन सकिन्छ ? विचार गरौ न । तपाई नागरिक दैनिकको छत्र कार्कि चिन्नु हुन्छ ? अलिक पुनर्लेखन गरेर पठाउने कि ? लेख वुलन्द छ । positive आरिश लाग्यो ।

    ReplyDelete

Post a Comment