झझल्को
सीमा भारतको, नया मुलुक यो, नेपालको काखमा
मेरो बाल्य थलो मधेश, खजुरा*, पश्चिम नेपालमा ।
माँ बागेश्वरी* को कृडास्थल अहो ! ग्वालाहरुको बलो
चुरे पर्वतको सीरान बढिया; यो उष्णताको थलो ॥

भैंसी गाई लिई बथान बहुतै साथीहरु भेलमा
तर्थ्यौं त्यो किरनै* नदी सहज नै पुग्थ्यौं अनि फाँटमा ।
खान्थ्यौं ती बनका तिँजु, बयर औ जामुन किम्बु अनि
खेल्थ्यौं खेल थरी – थरी सब मिली काटेर घाँसै पनि ॥

बित्थ्यो साँझ – बिहान हामी सबको थाहै नपाईकन
बस्ता* त्यो जब खुल्दथ्यो शयनको हुन्थ्यो ठूलो चाहना ।
घोक्ने पाठहरु प्रसस्त । तर लौ टाईम काँहा थियो ?
भोलीको भरमा कुनै पनि अहो ! पाठै सिधिन्न थियो ॥

माष्टर्जी ननिका, कडा अनि छुचा पाठै नसिध्याँउदा
भाग्थ्यौं लौ डरले त्यहीं नजिक नै बस्थ्यौं मुनी बृक्षका ।
ल्याएको सँगमा चमेना सबको बाडेर खान्थ्यौं पनि
गाउँथ्यौं बिरहा* रमेर सबले भाका मिलाई अनि ॥

सारा पोल अहो ! जसै घर महाँ पाठ्शालाका पुग्दथे
बाबाको मुख मण्डलै भर तहाँ मुस्कान नै नाच्दथे ।
भन्दा मृदुल बोलीले, ‘किन अहो ! बाबू तँ यस्तो भइस् !’
न्युँराई शिर चुपचाप रमिते बन्थें । अनि रीशले –

बाबाले सँगको छडी लिइ कठै सोंठ्याउदा बेसरी
जान्थें काख महाँ रुदैं जननीको लाडे बनी सुस्तरी ।
उफ्रँदै नजिकै खला* तक गई बोलाई संगी सब
खेल्थ्यौं डण्डि –बियो, कपर्दि सबले पालो मिलाई तब ॥

बित्यो बालपना छिटै अनि भयो टाढा खजुरा पनि
स्वप्नै मात्र भयो सुखी जिवन औ ती ख्याल-ठट्टा अनि
साथी ती छुटिए कता पुगि गए एक्लो म छु साथमा
ताजा यादहरु लिई मगजमा तैरन्छु एकान्तमा ॥

*. खजुरा- मध्य पश्चिम तराई (बाँके जिल्ला) को एक गाँउ ।
*. बागेश्व री- नेपालगंज सहरमा अवस्थित एक प्रसिद्ध मन्दिर ।
*. किरन- खजुरा मा बग्ने एउटा सानो खोला ।
*. बस्ता- किताब, कापी, कलम आदि हालेको स्कूल जाँदा लैजाने झोला; स्कूल ब्याग।
*. बिरहा- पश्चि म तराईमा गाईने अवधि भाषाको लोक गीत ।
*. खला- खलिहान, खमार, दाँई गर्ने सम्म परेको ठाँउ ।
BY : SUBESH GHIMIRE

Comments